धेरै विकसित देशहरुले यो महामारीमा आफ्ना समस्त शहर लकडाउनमा राखे पनि उनीहरुले दिने गरेको विद्यालय अनि विश्वविद्धालय अन्तर्गतका शिक्षाहरु चालू राखि रहेका छन् । कतै कतै १ हप्ता सम्म शिक्षा बन्द भयो तर सुचारु हुन समय लागेन। काठमाडौंका केही कलेजमा कोर्स सुरु भए पनि नेपालमा अहिले सम्म अधिकांश तहका शिक्षा पुर्ण रुपमा सुचारु हुन सकेको छैन। किन सुचारु हुन सकेन भन्ने कारणहरु जान्न कुनै पहाड पनि फोड्नु पर्दैन, तर के यो महामारीमा खुम्चिएको शिक्षा द्वारा आफैलाई एक स्वायत्त संस्था भन्न रुचाउने हाम्रा विश्वविद्धालय अनि त्यहाँका अधिकारीहरुले केही पाठ सिक्नु हुन्छ होला र ?
आज मात्र त्रिभुवन बिश्वबिद्धालयले अनलाइन शिक्षा सुरु गर्ने केही निर्देशिका जारी गरेको छ जसमा विद्यार्थीसंग ईन्टरनेट सुबिधाको पहुच छ या छैन भन्ने सर्भे गर्ने पनि पुर्वतयारीमा राखेको छ। यहाँ जटिलता कम भए पनि यो एकदमै खर्चिलो हुन सक्छ। त्रिवि लगाएत सबै बिश्वबिद्धालयलाई अनलाइन क्लास गर्न सरकारका केही कदमले प्रेरित गर्न सक्छ।
नेपालमा पनि अनलाइनबाट क्लास किन नभएको होला ? यसका धेरै प्राविधिक पक्षहरु छन, ती मध्ये एक हो ईन्टरनेटको अधिकतम मुल्य । भारतमा रिलायन्स जियोले तीन वर्ष अघि ल्याएको क्रान्ति हामी सबैले देखेका छौ, तर हाम्रो देशमा यस्तो हुन सक्ने लक्षण एकदमै कम छ। मोबाइल डाटा देखि लिएर वाइफाइसम्म निकै खर्चिला छन् ।
अमेरिका जस्तो देशमा मोबाइल ईन्टरनेटले ८०% भन्दा धेरै भाग ओगटेको छ, भारतमा रिलायन्स जियोले ल्याएको ईन्टरनेटले हरेक गाउँ गाउमा4G पुगेको छ, तर हामी नेपालमा आज पनि युट्युब हेर्नू पर्यो भने वाइफाइमा जोडिने गर्छौँ किनभने हाम्रो मोबाइल डाटाले ईन्टरनेटमा भिडियो हेर्न सक्ने आँट नै दिदैन । तर अफशोस यो को कि नेपालका केही महानगर अनि नगरपालिका बाहिर राम्रो सुबिधा भएको वाइफाइ पाउन हामीलाई एकदम मुस्किल हुन्छ । त्यो वाइफाइको इन्स्टलेशन चार्ज, मासिक चार्ज अनि स्पिड आफैमा महँगो छन् जसले गर्दा नेपालमा साधारण वर्गले वाइफाइ जडान गर्न सक्दैनन् ।
अनि मोबाइल डाटाले कति प्रयोग गर्ने? हप्तामा कतिको रिचार्ज गर्ने? टेलिकम कम्पनीले बोनसहरु दिए पनि खुल्ला रुपमा ईन्टरनेट प्रयोग गर्न हामी अझै पनि प्रेरित भएका छैनौँ ।
यस्तो अवस्थामा विश्वविद्धालयका शिक्षकले अनलाइन शिक्षा कसरी सुरु गर्ने? विद्यार्थीलाई कति दिन सम्म अनलाइन भिडियो बाट जोडि राख्ने?काठमाडौ बाहिर अनि वाइफाइ नभएको ठाउँमा विद्यार्थी अनि शिक्षकले कति दिन सम्म मोबाइल डाटा रिचार्ज गर्दै क्लास लिने? आधा घन्टाको भिडियो क्लास लिनु पर्यो भने कम्तिमा ५०० mb डाटा जान्छ, दिनमा २ वटामात्र क्लास हुदा पनि १ जिबी, अर्थात कम्तिमा १०० रुपैया ।
मैले केही समय पहिले नेपाली माध्यमबाट एसइइ दिन लागेका भाइ बहिनीको लागि उनीहरुको गणितको प्रश्न हल गर्ने युट्युब भिडियो बनाउने सोचेँ। मलाई लाग्यो यो कदमले आर्थिक रुपमा विपन्न भएका बिद्यार्थीलाई सहयोग पुग्छ। यसैको अनुसन्धानको लागि केही च्यानल खोजेँ । शिक्षा मन्त्रालयले २ वर्ष पहिले देखि नेपाली माध्यमबाट हरेक विषयको पूर्ण पाठ पहिले नै राखेको रहेछ, तर विडम्बना के हो भने त्यो च्यानलले दुई वर्ष सम्म पनि त्यस्तो धेरै भ्यू पाएको थिएन। त्यो च्यानल पुर्ण रुपले प्रचार नहुनु एक कारण अवस्यनै हो, अरु कारणहरु मध्ये यो हो कि जुन भूभागका लागि ती भिडियो बनाइयो, त्यो भूभागका भाइ बहिनीहरुले सायद त्यो भिडियो हेर्न सक्ने वाइफाइ या सुलभ मोबाइल डाटा नै पाएनन् ।
आज विद्यार्थीहरुलाइ पढ्न सहयोग गर्ने धेरै मोबाईल एप र युट्युब च्यानल छन् । खान एकेडेमी ती मध्ये एक प्रख्यात हो जहाँ गणित अनि विज्ञानका हरेक तहको पाठ सिक्न मिल्छ । पहुँच हुनेले प्राइभेट ट्युसन बाट भए पनि सिक्छन् तर सुचना प्रबिधिमा नेपालले फड्को मार्न सके देशका कुना कुनाका भाइ बहिनीले यी भिडियोबाट पाठ सिक्न सक्ने थिए। सानाले मात्र नभएर ठूलाले पनि कोर्सइरा, इ डि एक्स र युडेमी बाट अनलाइनमा सिक्ने सक्ने थिए।
नेपाल सरकारले ईन्टरनेटको मूल्यलाई कम गरेर या यस्ता केही एपहरुको प्रयोगमा डाटा छुट दिएर हरेक वर्गलाई सिक्न प्रेरित गर्न सक्छ। अनि यो महामारीको बेलामा नेपाल सरकारले टेलिकम कम्पनीसँग मिलेर तत्काल अनलाइन क्लासहरुको संचालन गर्न जुम र स्काइपको प्रयोग निशुल्क गर्ने हो भने धेरै शिक्षक अनि विद्यार्थीले यसको फाइदा लिने थिए जुन आगमी समयको लागि मार्गदर्शक हुने थियो।
केही वर्ष पहिले एनसेलले नेपालमा टुइटर र विकिपिडियाको प्रयोग नि:शुल्क गरेको थियो, जसको असर आज नेपालमा टुइटरमा भएको प्रयोगबाट देखिन्छ। टुइटरबाट केही सिक्न मिल्यो या मिलेन यो अर्कै छलफल हो तर मोबाइल ईन्टरनेटको शुल्क कम हुँदा त्यसले शिक्षाको विकासमा एक उल्लेखनीय योगदान दिन्छ भन्ने कुनै दोमन छैन ।
नेपालमा शिक्षाको विकासलाई हेर्ने हो भने आज पनि हामी निक्कै तल छौँ । विदेश गएर धेरै साथीहरूले उच्च शिक्षा लिनुभयो । ती अवसरको फाइदा राष्ट्र अनि समाजले रेमिटेन्स बाहेक अरु रुपमा लिन सकिरहेको छैन । तर आशा गरौँ समय परिवर्तनशील छ र हाम्रो देशको शिक्षाले चाँडै यस्तो फड्को मार्ने छ ।
जुम र स्काइपलाई ईन्टरनेट चार्ज मुक्त गरि महामारीको बेला खुम्चिएको शिक्षा सुरु गर्न सकिन्छ ।
ReplyDeleteतपाईको सोच र चिन्तन देखेर हौसला मिलेको छ। धन्यवाद।
ReplyDelete